रुपन्देहीमा चौथो डिएमसी कप शुरु
सुरज राना मगर

तिलोत्तमा । रुपन्देहीको पुरानो क्लब मध्ये एक दुर्गा मन्दिर युवा क्लब (डिएमसी), तिलोत्तमा–९, तुल्सीपुरको आयोजनामा शनिबारदेखि चौथो डिएमसी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।

गौतम बुद्ध माविको खेलमैदानमा शुरु भएको प्रतियोगिताको पहिलो दिन दुई खेलहरु सम्पन्न भए जसमा दल्का एफसी र योङ ब्वाईज क्लबले विजयी शुरुवात गरे ।

दिनको पहिलो र उद्घाटन खेलमा दल्काले सिद्धार्थ फुटबल एकेडेमीलाई २–१ ले हरायो । दल्काको जितमा सुमित क्षेत्री र आकाश थारुले गोल गरे । पराजित सिद्धार्थका लागि मनोज थापाले गोल फर्काएका थिए । खेलमा दल्काका आकाश थारु प्लेयर अफ द म्याच बने ।

त्यस्तै दोस्रो खेलमा योङ स्टारले सञ्जिवनी युवा क्लबलाई १–० को अन्तरले पराजित गर्यो । योङ स्टारको जितमा समिर घमालले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता समिर घमाल नै प्लेयर अफ द म्याच चुनिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वार्ड नम्बर ९ का वार्ड अध्यक्ष ध्रुव न्यौपाने, विशिष्ठ अतिथीद्वय मुख्य प्रायोजक शुभचन्द्र पुन र रामचन्द्र पुन, सह–प्रायोजक रमन सिंह थापा, आयोजक क्लबका अध्यक्ष छवी श्रीस लगायतले संयुक्त रुपमा गरेका थिए ।

आउँदो कार्तिक १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक प्रबिन गुरुङले बताए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक प्रबिन गुरुङले जानकारी दिए ।

Post Comments