News जी ट्वान्टी फाईभ कपः वार्ड नम्बर ४ र १३ सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । रुपन्देहीमा जारी दोस्रो जी ट्वान्टी फाईभ कप बुटवल उपमहानगर वार्डस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार बेलुका सम्पन्न अन्तिम दुई क्वाटरफाइनलहरुमा जित हात पार्दै वार्ड नम्बर ४ र १३ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा वार्ड नम्बर ४ ले वार्ड नम्बर १० लाई ३–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो । वार्ड नम्बर ४ को जितमा दिनेश बजिमयले दुई गोल गर्दा थप एक गोल अशोक सेनले गरे । वार्ड नम्बर १० का लागि महेश श्रेष्ठले एक गोल फर्काएका थिए । खेलमा वार्ड नम्बर ४ कै अनुभवी डिफेन्डर हिमाल थापा प्लेयर अफ द म्याच बने ।

त्यस्तै दोस्रो खेलमा वार्ड नम्बर १३ ले वार्ड नम्बर १२ माथि ८–० को फराकिलो जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो । वार्ड नम्बर १३ का लागि कप्तान भरत थापा र प्रेम गुरुङले ह्याट्रिक गरे भने टेकमान गुरुङ र गोपाल थापाले समान एक–एक गोल गरे । वार्ड नम्बर १३ का प्रेम गुरुङ प्लेयर अफ द म्याच समेत बने ।

प्रतियोगिता अन्तर्गत असोज २८ गते बुधबार बेलुका दुई सेमिफाइनल खेलहरु हुने खेल संयोजक रमेश कुमार जोशीले जानकारी दिए । पहिलो सेमिफाइनलमा ३ बजे वार्ड नम्बर २ र वार्ड नम्बर ४ भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा ४ बजे वार्ड नम्बर १३ र साविक विजेता वार्ड नम्बर ११ भिड्ने छन् ।

जी ट्वान्टी फाईभ क्लब, बुटवल, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही असोज ३० गतेका दिन हुनेछ ।

 

Post Comments