Province 5 लेखनाथ युनाइटेड बन्यो च्याम्पियन
सुरज राना मगर

बर्दघाट । नवलपरासी जिल्लाको बर्दघाटमा सम्पन्न प्रथम उपमेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि लेखनाथ युनाइटेड, कास्कीले जितेको छ ।

मंगलबार भएको फाइनल भिडन्तमा लेखनाथले घरेलु टोली नवलपरासी–११ लाई २–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । बर्दघाट स्थित क्याम्पाचौर खेलमैदानमा शुरुवाती अग्रता लिएर पनि जोगाउन नसकेको नवलपरासीले अन्ततः हार बेहोर्न पुग्यो ।

खेलको छैटौं मिनटमै अन्जली खवासको गोलबाट अग्रता बनाएको नवलपरासीले त्यसलाई पहिलो हाफसम्म पनि जोगाउन सकेन । उता २५औं मिनटमा रोश्नी लिम्बुले लेखनाथका लागि बराबरी गोल फर्काइन । त्यस्तै दोस्रो हाफको शुरुवात मै सदिपा ब्लोन तामाङले दोस्रो तथा निर्णायक गोल गर्दै लेखनाथको जित सुनिश्चित गरेकी थिईन् ।

विजेता बनेको लेखनाथले उपाधिसहित नगद १,०५,५०० हात पार्यो भने उपविजेता नवलपरासीले ६५ हजारमा चित्त बुझायो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी लेखनाथ कै दिपा शाही घोषित भईन् भने उत्कृष्ट गोलरक्षक पनि लेखनाथ कै झरना राई बनिन् ।

त्यस्तै उत्कृष्ट डिफेन्डर नवलपरासीकी एलिना मगर चुनिदा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि नवलपरासी कै रश्मी घिसिङले हात पारिन् । विजयी खेलाडीहरुलाई प्रमुख अतिथी बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बश्याल, बिशेष अतिथी उपमेयर मायादेवी पौडेल, बर्दघाट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष श्रेष्ठ लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

बर्दघाट नगर खेलकुद विकास समिति, नवलपरासीको आयोजनामा चैत्र १० गतेदेखि शुरु भएको प्रतियोगितामा रुपन्देही, नवलपरासी, नवलपुर जिल्लाका गरी कुल ८ टोलीहरुले सहभागिता रहेको थियो ।

Post Comments