Province 5 फुटबलसँगै सामाजिक दायित्व पूरा गर्दै लिस्नु
सुरज राना मगर

तिलोत्तमा । रुपन्देहीको फुटबलमा आफ्नो विशेष पहिचान बनाएको लिस्नु युवा क्लबले खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई पनि निरन्तरता दिएको छ ।

वार्षिक रुपमा जिल्ला कै पुरानो र प्रतिष्ठित मध्ये एक लिस्नु कपको आयोजना गर्दै आएको क्लबले सामाजिक कार्यलाई पनि क्लब कै अभिन्न जिम्मेवारीका रुपमा लिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण फुटबल गतिविधी ठप्प भए तापनि क्लबले स्थानीय स्तरमै सरसफाई कार्यक्रमको आयोजना गरि सामाजिक उत्तरदायीत्वलाई भने पूरा गरेको छ ।

यसै अवसरमा क्लबले तिलोत्तमा नगरपालिका–१५ स्थित मुख्य सडकको आसपासमा सरसफाई कार्यक्रम गर्यो । सरसफाई कार्यक्रमको अगुवाई गरेका क्लबका अध्यक्ष तिर्थराज मल्लले क्लबलाई खेलकुदमा मात्र नभएर सामाजिक कार्यमा पनि क्रियाशील राख्नु आफुहरुको उद्देश्य रहेको बताए ।

यो विपतको परिस्थितिमा क्लबले व्यक्तिगत मात्र नभएर सामाजिक स्वास्थ्य र सरसफाईप्रति उत्तिकै ध्यान दिन जरुरी रहेकोले आफूहरुले नगर, टोल लगायतको सरसफाई अभियानलाई सधै प्राथमिकतामा राखी यो कार्यलाई निरन्तरता दिने अध्यक्ष मल्लले बताए ।

सो अवसरमा क्लबकै सदस्य तथा स्वयमसेवीहरुले कोटिहवा चोकको आसपासमा सतकर्तता अपनाई सरसफाई गरेका थिए । सरसफाई कार्यक्रममा क्लब कै उपाध्यक्ष नेम गुरुङ तथा तिलोत्तमा–१५ का वडा अध्यक्ष खेमराज गुरुङ लगायतको उपस्थिति पनि रहेको थियो ।

 

Post Comments