Province 6 एबीसी स्पोर्टसलाई उपाधि
गोलनेपाल

सुर्खेत । जिल्ला फुटबल संघ सुर्खेतको आयोजनामा सम्पन्न ए डिभिजन फुटबल प्रतियोगिताको उपाधि एबीसी स्पोर्टस क्लबले जितेको छ । फाइनलमा सार्थी खोर्के क्लबलाई टाईब्रेकरमा हराउँदै एबीसी च्याम्पियन बनेको हो ।

विजेता बनेको एबीसी स्पोर्टसले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता साथी खोर्के क्लबले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

त्यस्तै साथी खोर्के क्लबका सुदिप गुरुङ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । उत्कृष्ट गोलरक्षक एबीसी स्पोर्टसका करण शाही चुनिए भने सर्वाधिक गोलकर्ता सार्थी खोर्के क्लबका बिक्रम सिंह ठकुरी बने । दुवैले जनही ५–५ हजार नगद र ट्रफी हात पारे ।

सिर्जनशील युवा क्लब, चिसापानीको विशेष सहयोगमा सम्पन्न प्रतियोगितामा विभिन्न सहयोगी संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । साथै प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई जिल्ला फुटबल संघ सुर्खेतले धन्यवाद र आभार समेत प्रकट गर्यो ।

 

Post Comments