Province 7 साबित्राको ह्याट्रिकसँगै एपिएफ सेमिफाइनलमा
गोलनेपाल

धनगढी । स्टार फरवार्ड साबित्रा भण्डारीले ह्याट्रिक गरेपछि फराकिलो जितका साथ दावेदार सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब, यहाँ जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा एपिएफले बिराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । एपिएफले अब सेमिफाइनलमा बैशाख ७ गतेका दिन अर्को विभागीय टोली त्रिुभवन आर्मी फुटबल क्लबको सामना गर्नेछ ।

धनगढी रंगशालामा भएको खेलमा एपिएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक सहित पाँच गोल गरिन् । त्यस्तै अनिता बस्नेत, सविता राना मगर र सरु लिम्बुले एक–एक गोल गरिन् ।

पहिलो हाफको ३६औ ंमिनेटमा पहिलो गोल गरेकी सावित्राले खेलको ५१औं मिनेटमा दोस्रो र ७४औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिईन् । साबित्राले थप दुई गोल भने ७९ र ९०औं मिनटमा गरेकी थिईन् ।

त्यस्तै खेलको ६२औं मिनटमा अनिता बस्नेत, ७५औं मिनटमा सरु लिम्बु तथा ८९औं मिनटमा सबिता राना मगरले गोल गर्दै एपिएफको फराकिलो जित सुनिश्चित गरेकी थिईन् । खेलमा पाँच गोल गरेकी एपिएफकी सावित्रा भण्डारी वुमन अफ द म्याच घोषित भईन् ।

प्रतियोगिता अन्तरगत बैशाख ६ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल आयोजक वनदेवी युवा क्लब, कैलाली र कालिका स्पोर्टस एकेडेमी, चितवनबीच हुने आयोजकले जनाएको छ ।

वनदेवी युवा क्लब, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि वैशाख १० गतेका दिन हुनेछ ।

Post Comments