South Asia किरन बने ‘फ्यान्स प्लेयर अफ द सिजन’
गोलनेपाल

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरन चेम्जोङले हिरो आइ लिगतर्फ फ्यान्स प्लेयर अफ द सिजनको अवार्ड जितेका छन् । यो अवार्ड विजेताबारे आइ लिगले बिहीबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत घोषणा गरेको हो ।

आई लिगतर्फ २०२०–२१ को सिजन राउण्डग्लास पञ्जाब एफसीका लागि खेलेका किरनले सोही सिजन लिगमा उत्कृष्ट गोलरक्षक बन्दै ‘गोल्डेन ग्लोव अवार्ड’ समेत जितेका थिए ।

उक्त सिजन १४ म्याच खेलेका किरनले ७ क्लिन सिट हात पारेका थिए भने लिग अवधिभर विपक्षीका कुल ५६ प्रहार जोगाएका थिए । स्मरण रहोस, किरनले यसअघि पञ्जाबबाटै खेलेर सन् २०१७–१८ को आई लिग उपाधि समेत जितेका थिए ।

हाल राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा व्यस्त रहेका किरन अन्य खेलाडीहरुका साथ पोखरामा छन् । नेपालले आगामी महिना सेप्टेम्बर २ र ५ तारीखका दिन भारतसँग मैत्रीपुर्ण म्याच खेल्ने तयारीमा पनि छ । साथै नेपालले अक्टुबरमा प्रतिष्ठित साफ च्याम्पियनसिप खेल्ने पनि तय भईसकेको छ ।

 

 

Post Comments