AFC/FIFA ब्राजीललाई छैठौंपटक फिफा फुटसल विश्वकपको उपाधि
गोलनेपाल

काठमाडौं । एसियाली राष्ट्र उज्वेकिस्तानमा सम्पन्न फिफा फुटसल विश्वकपको उपाधि ब्राजीलले छैठौंपटक जित्न सफल भएको छ । फाइनलमा ब्राजीलले परस्पर प्रतिद्वन्द्वी तथा गत संस्करणको उपविजेता समेत रहेको अर्जेन्टिनालाई २–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

उज्वेकिस्तानको राजधानी तश्केन्ट स्थित हुमो एरिनामा सम्पन्न भएको रोमाञ्चक फाइनलमा ब्राजीलका लागि कार्लोस फेराओ र राफा सान्तोषले गोल गरे । पराजित अर्जेन्टिर्नाका लागि भने म्याटिआस रोजाले गोल फर्काएका थिए ।

त्यस्तै युक्रेनले तेस्रो स्थान हासिल गर्यो । तेस्रो स्थानका लागि भएको म्याचमा युक्रेनले फ्रानसलाई ७–१ को फराकिलो हरायो । स्मरण रहोस, सेमिफाइनलमा युक्रेनले ब्राजीलसँग र फ्रान्सले अर्जेन्टिनासँग समान २–३ को हार बेहोरेको थियो ।

विधागततर्फ ब्राजीलका डाइगो जुफोले सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल हात पारे । प्रतियोगिताभरि १० गोल गरेका ब्राजील कै मार्सेलले गोल्डेन बुट हात पार्दा ब्राजील कै विलियन उत्कृष्ट गोलरक्षक चुनिए । फेयर प्ले अवार्ड भने पोर्चुगलले हात पार्यो ।

Photo: FIFA

Post Comments