बंगलादेश एएफसी महिला एसियन कपका लागि छनौट
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दक्षिण एसियाली फुटबलको च्याम्पियन बंगलादेश अर्को वर्ष अष्ट्रेलियामा हुने प्रतिष्ठित एएफसी महिला एसियन कपका लागि पहिलोपटक छनौट भएको छ ।

समूह सी तर्फ आफ्नो दोस्रो खेलमा १२८औं वरियताको बंगलादेशले आयोजक तथा ५५औं वरियताको बलियो म्यानमारलाई २–१ ले हराउनु तथा सोही समूहको अर्को खेलमा तुर्कमेनिस्तान र बहराईनले २–२ गोलको बराबरी खेल्नु बंगलादेशका लागि एसियन कपमा छनौट हुन थप सहज बन्न पुग्यो ।

समूह सी मा दुई खेलको समाप्तीपछि ६ अंकका साथ शिर्ष स्थानमा रहेको बंगलादेश एसियन कपका लागि छनौट भएको छ । ३ अंकका साथ म्यानमार दोस्रो स्थानमा छ । त्यस्तै १–१ अंक जोडेका बहराईन र तुर्कमेनिस्तान क्रमशः तेस्रो र चौथो स्थानमा छन् । समूह चरणको अन्तिम खेलमा बंगलादेशले तुर्कमेनिस्तानसँग खेल्नेछ भने म्यानमारले बहराईनसँग खेल्नेछ ।

छनौट प्रतियोगिताबाट एएफसी महिला एसियन कपका लागि छनौट हुने बंगलादेश पहिलो टोली समेत बनेको छ । त्यसबाहेक आयोजक अष्ट्रेलिया, साविक विजेता चीन, उपविजेता दक्षिण कोरिया र तेस्रो स्थान हासिल गर्ने टोली जापान यसअघि नै सोझै छनौट भईसकेका छन् ।

 

Post Comments