ANFA संकटासँग फेरि हार्यो अफ्रिकन
गोलनेपाल

बिराटनगर । साँघुरो जित निकाल्दै संकटा क्लब यहाँ जारी छैंटौं बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा संकटाले अफ्रिकन रुटस एसोसिएशन, क्यामरुनमाथि १–० को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

संकटाले साता दिन नबित्दै अफ्रिकनलाई हराएको यो लगातार दोस्रोपटक समेत हो । यसअघि शनिबार मात्र पोखरामा सम्पन्न १९औं आहा! रारा गोल्डकपको फाइनलमा संकटाले अफ्रिकनलाई हराउँदै उपाधि जित्न सफल भएको थियो ।

मंगलबार संकटाको जितमा दोस्रो हाफतर्फ ६१औं मिनटमा बक्स भित्र नजिकैबाट गणेश हमालले गरेको एक मात्र गोल संकटालाई अन्तिम चारमा पु–याउन निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच भने संकटा कै गोलरक्षक राजाबाबु थापा घोषित भए । उनले पुरस्कार वापत १० हजार र ट्रफी हात पारे ।

संकटाले अब दोस्रो सेमिफाइनलतर्फ बैशाख २ गतेका दिन पञ्जाब पुलिस, भारतसँग खेल्नेछ । प्रतियोगिता अन्तरगत बैशाख १ गते बुधबारको पहिलो सेमिफाइनल खेल घरेलु टोली बिराटनगर–११ र नेपाल एपिएफ क्लबबीच हुनेछ ।

बिराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ७ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने बैशाख ४ गतेका दिन हुनेछ ।

Post Comments