ANFA ११औं जितपुर सिमरा गोल्डकप शुरु, आयोजकको रोमाञ्चक जित
गोलनेपाल

सिमरा (खेलदैनिक) । मंगलबारदेखि शुरु विश्वकर्मा सिमेन्ट ११औं जितपुर सिमरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आयोजक नव जनजागृति युवा क्लबले विजयी शुरुवात गरेको छ ।

कृत्रिम प्रकाशमा खेलाइएको सिमरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजकले बागमती गाउँपालिका खेलकुद विकास समितिलाई ४–२ ले हरायो । आयोजक नव जनजागृतिको जितमा लुइस भिडाल र डोना थापाले २–२ गोल गरे ।

खेलको म्यान अफ द म्याच आयोजकका डोना थापा घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । साथै यो जितसँगै आयोजक नव जनजागृति युवा क्लब क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत बैशाख १ गते बुधबारको खेल त्रिभुवन आर्मी फुटबल क्लब र बिरगंज युनाइटेड क्लबबीच हुने आयोजकले जनाएको छ ।

नव जनजागृति युवा क्लबको आयोजना तथा जितपुर सिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने बैशाख ११ गतेका दिन हुनेछ ।

Post Comments