ANFA एन्फा प्रवक्ता राईको राजिनामा
गोलनेपाल

काठमाडौं । केहि समय यता तनावपुर्ण बनेको नेपाली फुटबलतर्फ अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरन राईले आधिकारिक रुपमै आफ्नो राजिनामा बुझाएका छन् । राईले सोमबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई आफ्नो राजिनामा पत्र बुझाएका हुन् ।

“वरिष्ठ उपाध्यक्षको रोहवरमा राजिनामा बुझाइएको” कुरा राईले आफ्नो सामाजिक सञ्जालमार्फत तस्विर र स्टाटस पोष्ट गर्दै पुष्टी गरेका छन् । त्यस्तै राईको राजिनामाबारे एन्फाले पनि आफ्नो आधिकारिक फेसबुक पेजमा समाचारमार्फत पुष्टी गरेको छ ।

राजिनामा बुझाएकै दिन राईले पत्रकार सम्मेलनको समेत आयोजना गरेका थिए । त्यसक्रममा उनले पछिल्ला तीन बर्षदेखि आफूलाई यो महत्वपूर्ण जिम्मेवारी दिइएकोमा सबैलाई धन्यवाद समेत दिए ।

एन्फाका अनुसार राईले प्रवक्ताको जिम्मेवारीबाट राजिनामा दिए तापनि एन्फाको कार्यसमिति सदस्य र सूचना तथा सञ्चार समितिको अध्यक्ष पदमा भने रहिरहने बताइएको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुताईरीको घट्नाक्रम र विवादलाई लिएर राई पनि असन्तुष्ट रहेको बताइएको छ ।

स्मरण रहोस, यो विवाद साम्य पार्न एन्फाले खेलकुद मन्त्रालयलाई जिम्मेवारी समेत दिएको छ । उता प्रशिक्षक अब्दुलाले पनि एन्फालाई विवादको छिनोफानो गर्न यहि अगस्त १० तारीखसम्मको अल्टिमेटम दिएका छन् ।

 

Post Comments