ANFA प्रथम भैरव कप मंसिर २० देखि
सुरज राना मगर

बर्दघाट । भैरव स्पोर्टस क्लब, बर्दघाट–१४, नवलपरासीको आयोजनामा आउँदो मंसिर २० देखि पुष २ गतेसम्म प्रथम भैरव कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

बर्दघाट–१४ स्थित बुद्धबस्ती खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि जारी रहेको प्रतियोगिता संयोजक अन्जन अधिकारीले बताए । साथै उनले टिमदर्ता पनि खुला गरिएको जानकारी दिए ।

यहि मंसिर १० गतेसम्म टिमदर्ता गर्ने अन्तिम मिति तोकिएको र टिमदर्ता शुल्क १० हजार रहेको पनि संयोजक अधिकारीले बताए । प्रतियोगितामा नवलपरासी, रुपन्देही, चितवनका उत्कृष्ट टोलीहरुको सहभागिता रहने पनि उनले जानकारी दिए ।

बुद्धबस्ती पिपल्स क्लब, बर्दघाट–१४, नवलपरासीको संरक्षकत्वमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्नेछ ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुले जनही १५–१५ हजार पाउने प्रचार प्रसार संयोजक समेत रहेका अन्जन अधिकारीले बताए । त्यस्तै विधागतर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments