ANFA एनी बिर्तामोड युनाइटेड च्यालेन्ज कप आजदेखि
रमेश समदर्शी

बिर्तामोड । आजदेखि एनी बिर्तामोड युनाइटेड इन्डो-नेपाल च्याम्पियन कप फुटबल प्रतियोगिता हुँदैछ । बिर्तामोड युनाइटेड एफसीले प्रतियोगिताको आयोजना गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा भारतको १ सहित ८ वटा टिमको सहभागिता रहेको छ । आजको उद्घाटन खेल भारतको जक्सन स्टार एफसीले काठमाडौँको सुनाकोठी सिटीसँग खेल्दैछ । 

यस्तै, आयोजक क्लबसँग सुनसरीको पाञ्चायन एफसी, मोरङको डाँगीहाट एफसीले इलामको रेडहर्ष एफसीसँग र धरान सिटी एफसीले पकलीको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

 आयोजकका सचिव सन्तोष राईले झापाली खेलाडीलाई प्रोत्साहन गर्दै फुटबल खेलको गतिविधिलाई चलायनमान बनाउन प्रतियोगिता आयोजना गरिएको बताएका छन् ।

 प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद २ लाख २२ हजार २२२ र ट्रफी पाउनेछ भने उपविजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँमा चित्त बुझाउनु पर्नेछ । यस्तै, विभिन्न विधाका विजेताले जनही नगद ५ हजार पाउँदा उत्कृष्ट खेलाडीले १५ हजार र उदीयमान खेलाडीले पनि १५ हजार पाउने क्लबका सहकोषाध्यक्ष योगेश गुरुङले बताए । 

प्रतियोगितालाई झापाली ब्राण्ड एनी स्पोर्टस्ले प्रायोजन गरेको छ । एनी स्पोर्टस्ले प्रथम पुरस्कार प्रदान गर्ने एनीका सञ्चालक सन्तोष थोप्राले जानकारी दिएका छन् । उनका अनुसार आयोजक टिमलाई एक सेट जर्सी र बल ब्वाइका लागि पनि जर्सी उपलब्ध गराइने भएको छ ।

 आयोजक क्लबका उपाध्यक्ष रमेश गुरुङका अनुसार क्लबले प्रतियोगिताबाट बचत गरेको रकमको केही अंश क्लबका खेलाडी तथा मिर्गौला पीडित समुन्द्र माझीको उपचारमा खर्च गर्ने निर्णय गरेको छ ।

Post Comments