ANFA थ्रीस्टार खप्तड गोल्डकपको फाइनलमा
गोलनेपाल

धनगढी । दश खेलाडीमा खुम्चिएर पनि थ्रीस्टार क्लब जारी छैठौं मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार धनगढी रंगशालामा भएको दोस्रो सेमिफाइनलमा थ्रीस्टारले आयोजक सुदुरपश्चिम–११ लाई टाईब्रेकरमा हराउँदै फाइनल यात्रा तय गरेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको ४४औं मिनटमा दिपेश गुरुङ्गले दोहोरो पहेंलो कार्ड खाँदै छाड्दा थ्रीस्टार पहिलो हाफबाटै दश खेलाडीमा खुम्चिन पुगेको थियो ।

एक खेलाडी कम भए पनि खेलको अन्तिमतिर ८३औं मिनटमा बिक्रम लामाको हेडर गोलबाट थ्रीस्टारले नै खेलमा अग्रता बनाएको थियो । यद्यपि खेलको इन्जुरी समयमा माधव भण्डारीले सुदुरपश्चिमका लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा भने थ्रीस्टारले नतिजा ४–२ ले आफ्नो पक्षमा पार्दै फाइनल स्थान सुरक्षित गर्न सफल भयो । खेलमा थ्रीस्टारका विक्रम लामा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । थ्रीस्टारले अब चैत १८ गते हुने फाइनलमा चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबसँग फाइनल खेल्नेछ ।

सुदुरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।

Post Comments