ANFA न्यु राईज र लुम्बिनी ज्ञानज्योति उपाधिका लागि भिड्ने
सुरज राना मगर

सियारी । प्रथम डिवाइसी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा न्यु राईज एफसी र लुम्बिनी ज्ञानज्योति क्लब भिड्ने भएका छन् ।

प्रतियोगिता अन्तरगत बिहीबार सियारी–१ स्थित कोटहीमाई खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा न्यु राईजले चरङ्गे एफसीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनल यात्रा तय गर्यो । न्यु राईजको जितमा कप्तान सुमित मल्लाहले पेनाल्टीबाट एक मात्र निर्णायक गोल गरे ।

त्यस्तै दोस्रो सेमिफाइनलमा लुम्बिनी ज्ञानज्योतिले आयोजक डिवाइसीलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । लुम्बिनी ज्ञानज्योतिको जितमा सन्दिप नेवार र दिपेन सेनले गोल गरे । उता पराजित डिवाइसीका लागि कप्तान सुबिन बिकले एक मात्र गोल गरेका थिए ।

अब यही जेठ १३ गते शनिबारका दिन हुने फाइनलमा न्यु राईज एफसी र लुम्बिनी ज्ञानज्योति उपाधिका लागि प्रतिस्पार्धा गर्ने खेल संयोजक सुबिन विश्वकर्माले जानकारी दिए ।

दुर्गा युवा क्लब, सियारी–१, कोटहीमाईको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments