झरना दोस्रो समपुर्ण कपको फाइनलमा
सुरज राना मगर

सुपौली । झरना स्पोर्टस क्लब, कुञ्जलापुर यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो सेमिफाइनलतर्फ झरनाले दावेदार मध्ये एक मानिएको फर्साटिकर युवा क्लब, फर्साटिकरलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

त्यसअघि तिलोत्तमा–१४ स्थित समपुर्ण खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ फर्साटिकरका लागि आशिष रानाले गोल गरे भने झरनाका लागि अनुप थापाले गोल फर्काएका थिए ।

टाईब्रेकरमा भने झरनासँग फर्साटिकर ५–४ ले स्तब्ध बन्न पुग्यो । खेलमा झरनाका गोलरक्षक कुशल सुनार म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत मंसिर २२ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल आयोजक समपुर्ण युवा क्लब, सुपौली र सञ्जिवनी युवा क्लब, बागधुराबीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।

तिलोत्तमा–१४ निवासी स्व. डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब। गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब। गुरुङ्ग, चित्र ब। गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुने खेल संयोजक हेम पुनले जानकारी दिए ।

 

Post Comments