ANFA प्रथम उपत्यकाव्यापी अन्तरपालिका मेयर कप सुरु, महालक्ष्मीको विजयी शुरुवात
गोलनेपाल

ललितपुर । गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा भएको उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टिमलाई हराएको छ ।

पेनाल्टि सुट आउटमा गोदावरीलाई ४–२ गोल अन्तरले हराउँदै महालक्ष्मीले क्बार्टरफाइनलमा स्थान पक्का गरेको छ । महालक्ष्मीका लागि सिद्धान्त अधिकारी, निसान राउत, सरोज राई र निसान बस्नेतले १–१ गोल गरे । पराजित गोदावरीका लागि सुबास तामाङ र सायर तामाङले एक–एक गोल गरे । गोदावरीका लागि सुरुवाती २ पेनाल्टि गोलमा परिणत हुन सकेन ।

निराजन मर्हजन र वाङ्गेल लामाले हानेको बलले जाली चुम्न सकेन । खेलमा गोदावरीको २ पेनाल्टि रोकेका महालक्ष्मीका गोलकिपर आर्यन मर्हजन म्यान अफ दि म्याच भए । उनले यसबापत नगद ५ हजार हात पारे । यसअघि निर्धारित ९० मिनेटसम्मको खेल बराबरी भएपछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट भएको थियो ।

अब सेमिफाइनल प्रवेशका लागि आगामी बैशाख २१ गते महालक्ष्मीले दक्षिणकाली नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । दक्षिणकाली सिधै बाई पाएर क्बार्टरफाइनलमा पुगेको हो ।

प्रतियोगितामा उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । आईतबार प्रतियोगितामा २ खेल हुँदैछन् । साढे १२ बजे हुने पहिलो खेलमा कोन्ज्योसोम गाउँपालिका र नागार्जुन नगरपालिका भिड्नेछन् भने अर्को खेलमा चन्द्रागिरी नगरपालिका र बाग्मती गाउँपालिकाबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

Post Comments