ANFA एनएसएल फाइनलः डिफेन्डिङ च्याम्पियन ललितपुरलाई पोखराको चुनौति
गोलनेपाल

काठमाडौं । बहुप्रतिक्षित तेस्रो नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा आज डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी फुटबल क्लब र पोखरा थन्डर्स एफसी भिड्दै छन् ।

दशरथ रंगशालामा बेलुका ६ बजेदेखि शुरु हुने आजको खेलको नतिजासँगै सुपर लिगको तेस्रो विजेताको टुंगो लाग्नेछ । उत्कृष्ट लयमा रहेर लिग चरणमा एउटै खेल नहारेको ललितपुरले पहिलो क्वालिफायरमा पनि धनगढीलाई हराउँदै फाइनल स्थान पक्का गरेको थियो ।

उता पोखराको फाइनल यात्रा भने त्यति सहज बनेन । लिग चरणतर्फ मुश्किलले चौथो स्थानमा रहेर प्ले अफ खेल्ने अवसर पाएको पोखराले इलिमिनेटरमा चितवन र दोस्रो क्वालिफायरमा धनगढीलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । फाइनलसम्म आइपुग्दा सम्भवत पोखरा पनि अब उपाधिको दावेदारका रुपमा उभिएको छ । र, ललितपुरको उपाधि जोगाउने होडमा पोखराले कडा चुनौति पेश गर्ने निश्चित छ ।

दर्शकहरुका लागि फाइनल खेलको टिकटदर सामान्यतर्फ ४०० र विशिष्टतर्फ १५०० तोकिएको छ । साथै दर्शकहरुले डिजिटल वालेट खल्तीमार्फत पनि टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

Post Comments