Goalnepal Foundation विश्वासको परिवारलाई नमूना एफसीको सहयोग
गोलनेपाल

दुलेगौंडा । नमुना फुटबल क्लब गाछेपानीले फुटबल खेलाडी विश्वास श्रेष्ठको परिवारलाई नगद पच्चीस हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ । राष्ट्रिय स्तरमा फुटबल खेलेरै चर्चित बनेका श्रेष्ठको केहि महिना अघि स्याङ्जा वालिङ स्थित घरमा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको थियो ।

त्यति मात्र नभएर मसिंर ४ गते श्रेष्ठका बुवा रुप नारायण श्रेष्ठलाई करेन्ट लागि चार तलाबाट खस्दा गम्भीर घाइते भएपछि विश्वासको परिवार थप मारमा परेको थियो । बन्दै गरेको नयाँ घरमा फलाम फाल्ने क्रममा हाइटेन्सन तारमा ‘टच’ भएपछि झट्काले तानेर चार तलाबाट झर्दा विश्वासका पिता गम्भिर रुपमा घाइते छन् । देब्रे खुट्टा र दुई वटा करङ भाँचिएको छ ।

हाल उनको काठमाडौ स्थित ग्रान्डी अस्पतालमा उपचार भईरहेको छ । पिताको उपचारमा लाखौं खर्च गरिसकेका विश्वासले सहयोगका लागि अन्तिम विकल्पका रुपमा फुटबलप्रेमी र शुभेच्छुकहरुसँग सहयोगको अपिल गरेका थिए ।

सोही अवसरमा नमुना एफसीले सोमबार नगद २५ हजार नगद विश्वासको परिवारलाई आर्थिक सहयोग गरेको छ । नमुना फुटबल क्लबका रोशन पुन, अनिल पुन, प्रदिप पुन, सुरज राम्जाली र विनोद वाग्लेले सामुहिक रूपमा उक्त रकम सहयोग गरेका हुन् ।

सो अवसरमा विश्वास श्रेष्ठले नमुना फुटबल क्लबका लागि पनि उत्कृष्ट खेल खेलेको स्मरण गर्दै वाग्लेले राष्ट्रका लागि खेलक्षेत्रबाट योगदान पुर्याएका खेलाडीहरूलाई समस्या पर्दा सहयोग गर्नु राज्य र सबैको दायित्व भएको बताए । ११ बर्षको उमेरदेखि नै एन्फा एकेडेमीमा आवद्ध भएका विश्वासले थुप्रै पटक अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा समेत सहभागिता जनाईसकेका छन् । विश्वास श्रेष्ठ हाल हिमालयन शेर्पा क्लवमा आवद्ध छन् ।

Post Comments