आयोजक युनाइटेडलाई तेस्रो दमाम च्याम्पियन कपको उपाधि
सुरज राना मगर

काठमाडौं । साउदी अरेबियाको पूर्वी क्षेत्र दमाममा आयोजित तेस्रो दमाम च्याम्पियन कप फुटबल प्रतियोगिताको उपाधि आयोजक युनाइटेड फुटबल क्लब दम्मामले जितेको छ ।

अजेजिया मैदानमा सम्पन्न फाइनलमा युनाइटेडले पाथीभरा फुटबल क्लबलाई २–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । आयोजक युनाइटेडको जितमा समिर श्रेष्ठ र सनम राईले गोल गरे । पाथीभराका लागि भने एक मात्र गोल सन्तोषले फर्काएका थिए ।

विजेता युनाइटेड क्लबले नगद ७ हजार ७७७ साउदी रियाल (करिब २ लाख ८० हजार नेपाली रुपैयाँ), ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त ग¥यो भने उपविजेता पाथीभरा क्लबले ४ हजार ४४४ साउदी रियाल (करिब १ लाख ६० हजार नेपाली रुपैयाँ), ट्रफी, प्रमाणपत्र र मेडलमा चित्त बुझायो ।

विधागततर्फ युनाइटेड क्लबका उज्वल घिमिरे उत्कृष्ट गोलकिपर बन्दा विशाल पुन उत्कृष्ट डिफेन्डर चुनिए । अर्जुन तामाङ उत्कृष्ट स्ट्राइकर बन्दा सनम देवानले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । त्यस्तै कप्तान योञ्जन हमाल प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी चुनिए । धर्मप्रसाद भट्टराई उत्कृष्ट कोच र ओमबहादुर कुमाल उत्कृष्ट म्यानेजर घोषित भए ।

उता पाथीभरा क्लबका राजेश उरा उत्कृष्ट मिडफिल्डर र सुशील माझी फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए । अनुशासन र खेल भावनाका आधारमा चन्द्र–सूर्य फुटबल क्लबलाई ’फेयर प्ले टिम’ घोषणा गरियो ।

मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इद (इद–उल–अजहा) को अवसर पारेर युनाइटेड क्लब, दमामले आयोजना गरेको प्रतियोगितामा साउदी अरेबियाका विभिन्न शहरबाट २१ नेपाली फुटबल क्लबहरुले सहभागिता जनाएका थिए ।

 

 

Post Comments