Province 3 मकालु एफसीलाई मलेसियामा सम्पन्न दोस्रो मकालु गोल्डकपको उपाधि
गोलनेपाल

जोहोरबारु । मकालु फुटबल क्लब, जोहोरबारुको आयोजनामा सम्पन्न दोस्रो मकालु गोल्डकपको उपाधि आयोजक मकालु एफसीले जितेको छ। फाइनलमा साविक विजेता क्वालालम्पुरको हिमालयन एफसीलाई १–० ले पराजित गर्दै मकालु एफसी च्याम्पियन बनेको हो।

केम्पा अवाना रंगशालामा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा मदन मगरले निर्णायक गोल गर्दै मकालु एफसीलाई अग्रता दिलाए। त्यसपछि हिमालयन एफसीले बराबरीका लागि प्रयास गरे पनि मकालुको रक्षापंक्तिले अग्रता जोगायो। अन्ततः मकालु एफसीले १–० को जितसहित उपाधि आफ्नो नाममा लेखायो। फाइनलमा निर्णायक गोल गरेका मदन मगर उत्कृष्ट खेलाडी घोषित भए।

१६ टोली सहभागी द्विदिवसीय नकआउट प्रतियोगिताको विजेता मकालु एफसीले १५ हजार १ मलेसियन रिंगेट पुरस्कार प्राप्त गर्दा उपविजेता हिमालयन एफसीले ७ हजार ५ सय १ मलेसियन रिंगेट हात पारेको छ।

व्यक्तिगत विधातर्फ मकालु एफसीका प्रविन जिमी उत्कृष्ट गोलरक्षक, बृजेश चौधरी उत्कृष्ट रक्षक तथा आशालाल कुमाल सर्वोत्कृष्ट खेलाडी घोषित भए। हिमालयन एफसीका अजित चौधरी उत्कृष्ट मध्यपंक्तिका खेलाडी बने। मकालुकै बिमल वि.क. प्रतियोगिताका सर्वाधिक गोलकर्ता बने। उनले प्रतियोगितामा ७ गोल गरेका थिए।

Post Comments