ANFA फर्साटिकर फाइनलमा, उपाधिका लागि लिस्नुसँग भिड्ने
सुरज राना मगर

बुटवल । संघर्षपुर्ण जितका साथ फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी तेस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा फर्साटिकरले आयोजक इभोलुशन क्लब, बुटवललाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलमा शुरुवाती अग्रता भने इभोलुशनले नै लिएको थियो । खेलको ३५औं मिनटमा सन्जु सेनले इभोलुशनका लागि शुरुवाती गोलको खाता खोलेका थिए । तर, लगतै ३९औं मिनटमा आशिष रानाले फर्साटिकरका लागि बराबरी गोल फर्काएका थिए ।

त्यसपछि टाईब्रेकरमा भने फर्साटकरले इभोलुशनमाथि ४–३ को जित निकाल्दै फाइनल स्थान पक्का गर्यो । फर्साटिकरले अब बैशाख २९ गते सोमबार हुने फाइनलमा साविक विजेता लिस्नु युवा क्लब, कोटिहवासँग उपाधिका लागि भिड्नेछ ।

इभोलुशन क्लब अफ बुटवल, तामनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१५१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments