इभोलुशन कपमाथि लिस्नुको ह्याट्रिक
सुरज राना मगर

बुटवल । प्रभावशाली जितका साथ तेस्रो इभोलुशन कपको उपाधि लगातार दोस्रोपटक जित्दै लिस्नु युवा क्लब, कोटिहवाले प्रतियोगितामाथि ह्याट्रिक गरेको छ ।

सोमबार सम्पन्न फाइनलमा साविक विजेता लिस्नुले फर्साटिकर युवा क्लब, फर्साटिकरमाथि २–० को जित निकाल्दै उपाधिमाथि लगातार तीन जितका साथ ह्याट्रिक जमाएको हो ।

बुटवल–१२, तामनगर स्थित चारपाला रंगशालामा भएको खेलमा लिस्नुका लागि विश्व थापाले एक गोल गर्दा अर्को गोल रोशन दोङले पेनाल्टीमार्फत गरेका थिए ।

लगातार तेस्रोपटक विजेता बनेको लिस्नुले उपाधिसहित नगद १,५१,१५१ रुपैयाँ हात पार्यो भने उपविजेता फर्साटिकरले ७५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

लिस्नुका कप्तान सुमित मल्लाह फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । लिस्नु कै युगल थापा मगर उत्कृष्ट गोलरक्षक बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार लिस्नुका विश्व थापा र आयोजक इभोलुशन क्लबका सन्जु थापाले संयुक्त रुपमा हात पारे ।

त्यस्तै लिस्नुका कुशल भण्डारी उत्कृष्ट प्रशिक्षक चुनिदा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी फर्साटिकरका आकाश थापा मगर घोषित भए । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका प्रवक्त शिव राना, आयोजक इभोलुशन क्लब अफ बुटवलका अध्यक्ष अमर थापा लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments
Advertisement Yamaha Nepal