रामपुर नगरपालिकालाई माथागढी कपको उपाधि
सुरज राना मगर

पाल्पा ( माथागढी गाउँपलिका, पाल्पाको आयोजनामा सम्पन्न माथागढी कप फुटबल प्रतियोगिताको उपाधि रामपुर नगरपालिकाले जितेको छ । बिहीबार सम्पन्न फाइनलमा रामपुरले आयोजक माथागढी गाउँपालिकालाई १–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

माथागढी गाउँपालिका–३, सराई स्थित सराई खेलमैदानमा भएको फाइनल भिडन्तमा रामपुरका लागि गौरव क्षेत्रीले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।

उपाधिसँगै विजेता रामपुरले १ लाख नगद, प्रमाणपत्र, कप र ट्रफी प्राप्त गर्यो भने उपविजेता माथागढीले ७५ हजार नगद, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यस्तै तेस्रो बनेको तिनाउ गाउँपालिकाले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक माथागढी खेलकुद विकास समितिका संयोजक तेज घर्तीमगरले जानकारी दिए ।

समापनका अवसरमा खेलाडीहरुलाई प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, आयोजक माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापालगायतले पुरस्कृत गरेका थिए ।

Post Comments