International क्यानडाको बराबरी, अमेरिकाको शानदार जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ को अर्का दुई सह–आयोजक राष्ट्र क्यानडाले आफ्नो पहिलो खेलमा बराबरी खेल्दा अमेरिकाले शानदार जित हात पारेको छ ।

समूह बी मा रहेको क्यानडाले बोस्निया एण्ड हर्जगोभिनासँग १–१ गोलको बराबरी खेलेको हो । खेलमा अग्रता भने बोस्नियाले लिएको थियो । २१औं मिनटमा जोवो लुकिकको गोलबाट बोस्नियाले खेलमा अग्रता बनाए तापनि त्यो अग्रता अन्तिमसम्म जोगाउन सकेन ।

उता खेलमा फर्कन संघर्ष गरिरहेको क्यानडाले ७८औं मिनटमा साइल लरिनको गोलमार्फत खेललाई बराबरीमा फर्काएको थियो ।

समूह चरणको दोस्रो खेलमा अब १८ जुनका दिन क्यानडाले कतारको सामना गर्नेछ भने सोही दिन बोस्नियाले स्वीजरल्याण्डसँग खेल्नेछ ।

अमेरिकाको उत्कृष्ट शुरुवात

त्यस्तै समूह डी मा रहेको अमेरिकाले शनिबार बिहान सम्पन्न आफ्नो पहिलो खेलमा पाराग्वेलाई ४–१ को अन्तरले हरायो । खेल शुरु भएको सातौं मिनट मै डामियन बोबाडिलाले आत्मघाती गोल गर्दा अमेरिकाले पहिलो गोलको खाता खोलेको थियो ।

खेलमा बलियो पकड बनाएको अमेरिकाका लागि ३१औं मिनटमा फोलारिन बालोगुनले दोस्रो गोल थपे । त्यस्तै पहिलो हाफ कै अतिरिक्त समयमा बालोगुनले व्यक्तिगत दोस्रो तथा घरेलु टोलीका लागि तेस्रो गोल गरे ।

खेलको पहिलो हाफसम्म ३–० को अग्रता बनाएको अमेरिकाले थप एक गोल दोस्रो हाफको अन्तिमतिर गर्यो । यद्यपि त्यसअघि ७३औं मिनटमा पाराग्वेका लागि माउरिसियोले एक गोल फर्काएका थिए । तर, पाहुना टोलीका लागि त्यो गोल हार टार्न प्रर्याप्त बनेन ।

उता अमेरिकाका लागि खेलको इन्जुरी समयमा जियोभानी रेनाले चौथो गोल गर्दै घरेलु टोलीको शानदार जित पक्का गरे ।

अमेरिकाले आफ्नो आगामी १९ जुनका दिन अष्ट्रेलियासँग खेल्नेछ भने सोही दिन पाराग्वेले टर्कीको सामना गर्नेछ ।

Post Comments