काठमाडौं (एजेन्सी) । जारी फिफा विश्वकप २०२६ को बलियो प्रत्याशी मध्ये एकका रुपमा हेरिएको इङल्याण्डमाथि आफ्नो पहिलो खेल खेल्नु अघि नराम्रो घट्ना घटेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार इङलिस फुटबल टोलीको प्रशिक्षण सामाग्रीहरु चोरी भएका छन् । इङलिस फुटबल टोलीले केन्सस सिटीमा प्रशिक्षण गर्ने कार्यक्रम रहेको थियो ।
सोही अनुसार टोलीको प्रशिक्षण सामाग्रीहरु पहिला प्रशिक्षण केन्द्रतर्फ पठाइएको थियो । तर, ती सामाग्रीहरु चोरी भएको बताइएको छ । यद्यपि के–के सामाग्रीहरु चोरी भएको भन्नेबारे यकिन नभए तापनि इङलिस टोलीको बल र फुटबल बुटहरु चोरी भएको अनुमान गरिएको छ ।
यो घट्नाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ । साथै बीबीसीका अनुसार घट्नामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ पनि गरिएको बताइएको छ ।
इङल्याण्डले विश्वकपको आफ्नो पहिलो खेल अघि पूर्ण अभ्यास आइतबारदेखि शुरु गर्ने कार्यक्रम रहेको छ । विश्वकपतर्फ समूह एलमा रहेको इङल्याण्डले आफ्नो पहिलो खेल जुन १७ तारीखका दिन बलियो प्रतिद्वन्द्वी क्रोएशियासँग खेल्ने कार्यक्रम रहेको छ ।