ब्राजील र मोरक्कोको बराबरी, स्कटल्याण्डको जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकपतर्फ समूह सी को शुरुवाती दुई खेलहरुमध्ये पहिलो खेलमा ब्राजील र मोरक्कोले बराबरी खेल्दा अर्को खेलमा स्कटल्याण्डले जित हात पारेको छ ।

पाँचपल्टको विजेता ब्राजीलले अफ्रिकी महारथी मोरक्कोसँग १–१ गोलको बराबरी खेलेको हो । खेलमा अग्रता भने मोरक्कोले लिएको थियो । खेलको २१औं मिनटमा इस्माइल साइबरीले मोरक्कोका लागि पहिलो गोल गरेका थिए ।

तर, ब्राजीलले पहिलो हाफ मै बराबरी गोल फर्काउन सफल भएको थियो । ३२औं मिनटमा भिनिसियस जुनियरले सुन्दर गोल गर्दै खेललाई बराबरीमा ल्याउनुका साथै ब्राजीलको सम्भावित हार पनि टारेका थिए ।

त्यस्तै समूह सी कै अर्को खेलमा स्कटल्याण्डले अर्को अफ्रिकी टोली हाइटीलाई १–० ले हरायो । खेलको २८औं मिनटमा जोन म्याकगीनले गरेको एक मात्र गोल स्कटीस टोलीलाई जित दिलाउन निर्णायक गोल बन्यो ।

समूह सी को दोस्रो खेलमा अब जुन १९ तारीखका दिन स्कटल्याण्डले मोरक्कोको सामना गर्नेछ भने सोही दिन ब्राजीलले हाइटीसँग खेल्नेछ ।

Post Comments