काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १९औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरुका बीच मंगलबार सम्पन्न भएको छ । स्मरण रहोस, एन्फाको सोमबार मात्रै बसेको कार्य समितिको बैठकले विभिन्न बिषयमाथि छलफल गरेको थियो ।
बैठकमा उठाइएका केही महत्वपूर्ण बिषयहरुलाई मंगलबार सानेपा स्थित हेरिटेज गार्डेनमा सम्पन्न भएको एन्फा कंग्रेसले पारित गरेको थियो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा भएको सो साधारण सभाले तीन जिल्लाहरु खोटाङ, मनाङ र नवलपरासी (पूर्व) लाई पूर्ण सदस्यता दिने निर्णय गरेको थियो ।
त्यस्तै एन्फाको आर्थिक बर्ष २०७७–७८ को अनुमानित वार्षिक बजेट पनि पारित गरिएको थियो । स्मरण रहोस, एन्फा कोषाध्यक्ष रविन्द्र जोशीले आगामी आर्थिक बर्षका लागि भनेर ८५ करोड ६६ लाख ४२ हजार २४० रुपैयाँको अनुमानित बजेट सोमबार बसेको कार्य समितिको बैठकमा प्रस्ताव पेश गरेका थिए ।
त्यसैगरी ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथिको निलम्बन पनि फुकुवा गरिएको छ । एन्फाको विधान संशोधनबारे तीन महले प्रस्ताव पनि साधारण सभाले पारित गरेको थियो । सो अवसरमा एन्फा प्रवक्ता किरन राईले कंग्रेसले पारित गरेको निर्णयहरुलाई कार्यान्वयन गर्नेमा प्रतिवद्धता व्यक्त गरे ।
खेलकुद मन्त्रीद्वारा उद्घाटन
त्यसअघि मंगलबार साधारण सभाको उद्घाटन युवा तथा खेलकुद मन्त्री दावा लामाले गरेका थिए । सो अवसरमा राखेपका सदस्य सचिव रमेश सिलवाल, एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायत वर्तमान एन्फाका कार्यसमिति सदस्य, पत्रकार लगायत अन्य विशिष्ट अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)