सैनामैना । खेलमा शुरुवाती गोल खाएर पनि उत्कृष्ट पूनःरागमन गर्दै सिद्धार्थ फुटबल क्लब जारी प्रथम आदर्श कप नाईन ए साईड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा सिद्धार्थले न्यु ईरा फुटबल क्लबलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । सैनामैना–४ लहरेपिपल स्थित आयोजकको खेलमैदानमा भएको खेलको ३३औं मिनटमा रोशन रानाको गोलबाट न्यु ईराले खेलमा अग्रता लिएको थियो ।
तर न्यु ईराले त्यो अग्रता पहिलो हाफसम्म मात्र जोगाउन सक्यो । उता दोस्रो हाफमा लय समातेको सिद्धार्थका लागि ५५औं मिनटमा बक्स भित्रबाट आकाश बुढा मगरले हेड गोल गर्दै सिद्धार्थलाई खेलमा फर्काएका थिए । त्यसको पाँच मिनट लगतै विश्वास थापाले मैदानको बाँया कुनाबाट गरेको सशक्त प्रहार विपक्षी पोष्टको दाँया कुना हुँदै निर्णायक गोलका रुपमा परिणत भएको थियो ।

सोमबारको खेलको म्यान अफ द म्याच सिद्धार्थका आकाश बुढा मगर घोषित भए । सिद्धार्थले अब फाइनलमा मंगलबार हुने दोस्रो सेमिफाइनलतर्फ आयोजक आदर्श युवा क्लब र सितल युवा क्लबबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल आउँदो माघ १५ गतेका दिन हुनेछ ।
आदर्श युवा क्लब, सैनामैना–४ मुर्गियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष कोषराज बस्नेतले बताए ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने