काठमाडौं । नाइन स्टार फुटबल क्लब, कतारको आयोजनामा त्यहाँ रहेका प्रवासी नेपालीहरुबीच जारी प्रथम नाइन स्टार फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो साता चार खेलहरु सम्पन्न भएका छन् ।
दोहा स्थित एमआइसी मिसाइड स्पोर्टस कम्प्लेक्स ग्राउण्डमा भएको दोस्रो सातातर्फको पहिलो खेलमा आयोजक नाइन स्टार फुटबल क्लबले सुनसरी फुटबल क्लबलाई २–० ले हरायो । नाइन स्टारको जितमा पारस तामाङ र बिशाल गुरुङले गोल गरे । खेलमा समिर थारु म्यान अफ दि म्याच चुनिए ।
दोस्रो खेलमा सलिक तालावात फुटबल क्लबले युनाइटेड युथ फुटबल क्लबलाई टाईब्रेकरमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा गोलरक्षक अशोक मौराती म्यान अफ दि म्याच बने ।
तेस्रो खेलमा न्यु स्टार फुटबल क्लबले बिरकट अल अवामेर फुटबल क्लबलाई ३–१ को अन्तरले पराजित गर्यो । न्यु स्टारको जितमा सुरज मेचे, सन्देश लिम्बु र खगेन लिम्बुले गोल गरे । उता बिरकटका लागि सुरेन्द्र चौधरीले एक गोल फर्काएका थिए । खेलमा सन्देश लिम्बु म्यान अफ दि म्याच घोषित भए ।
त्यसैगरी चौथो खेलमा सिएफसी (निलो) ले हिमालयन फुटबल क्लबलाई टाईब्रेकरमा ५–४ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाईब्रेकरमा सिएफसी विजयी बनेको हो । खेलमा सिएफसीका केशव बिक म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,४४४ कतारी रियाल हात पार्नेछ भने उपविजेताले २,२२२ कतारी रियालसहित ट्रफी, मेडल प्राप्त गर्ने खेल संयोजक प्रबिन राईले जानकारी दिए । कुल २१ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल आउँदो अक्टुबर ३ तारीखका दिन हुने समेत संयोजक राईले बताए ।