कोटिहवा । उज्ज्वल राईले प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि अञ्चलपुर युवा क्लब, भैरहवा रुपन्देहीमा जारी यशोदा फुडस २३औं लिस्नु कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ अञ्चलपुरले पाहुना टोली पाल्पा–११, पाल्पालाई ५–० को फराकिलो अन्तरले हराउँदै अन्तिम आठको यात्रा तय गर्यो । तिलोत्तमा–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा भएको खेलमा अञ्चलपुरका लागि उज्ज्वल राईले ह्याट्रिक गर्दा आयुष राना मगर र चन्दन दासले थप एक–एक गोल गरे ।
खेलमा ह्याट्रिक गरेका अञ्चलपुरका उज्ज्वल राई खेलको म्यान अफ दि म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत भदौ १७ गते मंगलबारको खेल झरना स्पोर्टस क्लब, कुञ्जलापुर र कपिलवस्तु–११, कपिलवस्तुबीच हुने खेल संयोजक अशोक थापाले जानकारी दिए ।
लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजना तथा यशोदा फुड्स प्रा.लि.को मुख्य प्रायोजनसँगै तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ को सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने भदौ २७ गतेका दिन हुनेछ ।