काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलोपटक साफ पुरुष तथा महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।
साफले आधिकारिक रुपमा प्रतियोगिता आयोजनाबारे जानकारी गराउँदै प्रतियोगिता आयोजना मिति पनि घोषणा गरेको छ । साफका अनुसार आगामी जनवरी १३ देखि २६ तारीखसम्म साफ फुटसल च्याम्पियनसिप हुनेछ ।
दक्षिण एसियाली फुटसलको महाभिडन्तका रुपमा रहने यो प्रतियोगिताको आयोजना स्थल भने दक्षिण एसिया बाहिर रहनेछ । अर्थात् साफ फुटसल च्याम्पियनसिपको पहिलो संस्करण थाइल्याण्डमा हुनेछ ।
त्यसबाहेक साफले दक्षिण एसियामा फुटसलको बलियो आधार तयार पार्न रेफ्री तथा प्रशिक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिमको पनि आयोजना गर्ने कार्यक्रम तय गरेको छ ।
साफ फुटसल च्याम्पियनसिप आयोजनाले विश्वभर नै लोकप्रिय रहेको फुटसल खेल दक्षिण एसियामा पनि प्रभावकारी रुपमा सक्रिय रहने र यसले दक्षिण एसियाको फुटसल विकासमा पनि सकरात्मक प्रभाव पार्ने विश्वास लिएको साफका महासचिव पुरुषोत्तम कट्टेलले बताए ।
स्मरण रहोस, साफले दक्षिण एसियाली फुटबल र फुटसल विकासका लागि विविध कार्यक्रम आयोजना गर्दै आईरहेको छ र आउने दिनहरुमा पनि नयाँ कार्यक्रमहरु बनाउने लक्ष्य समेत लिएको छ । यसै सन्दर्भमा साफले यसै वर्षदेखि साफ महिला क्लब च्याम्पियनसिप पनि आयोजना गर्दैछ । जुन पहिलोपटक नेपालबाटै शुरुवात हुँदैछ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल