बिजयवस्ती । अल्टोकी क्लब, रौतहट यहाँ जारी स्व. राम बहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अल्टोकीले बिरगंज सिटी, बिरगंजलाई टाईब्रेकरमा हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । त्यसअघि बिजयवस्ती खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ खेलको ३७औं मिनटमा नबिन चौधरीले बिरगंजका लागि शुरुवाती गोल गरेका थिए । तर, खेलको ६७औं मिनटमा राजकुमार तामाङले अल्टोकीका लागि पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए ।
निर्धारित समयको खेल बराबरीमा टुंगिएपछि टाईब्रेकरमा अल्टोकीले ४–२ ले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा अल्टोकी कै सुरेश क्षेत्री म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत असोज २० गतेको खेल बिरगंज युथ एकेडेमी, बिरगंज र एभरेष्ट फुटबल एकेडेमी, सर्लाहीबीच हुने आयोजकले जानकारी दियो । त्यस्तै असोज १८ गते हुने भनिएको बिरगंज युनाइटेड, बिरगंज र श्री परिवर्तन हातेमालो युवा संगठन, चितवनबीचको खेल असोज २५ गतेका दिन हुने समेत आयोजकले जनाएको छ ।
प्रतिभा युवा क्लब तथा बिजयवस्ती युवा क्लब, ठोरी–४, पर्साको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने कार्तिक ४ गतेका दिन हुनेछ ।