News १५औं रनिङ चाँदी कपः सिद्धार्थ युवा क्लब (रातो) र बिरेन्द्र युवा क्लब (बी) को जित
गोलनेपाल

पुनर्वास । आयोजक सिद्धार्थ युवा क्लब (रातो) र बिरेन्द्र युवा क्लब (बी) ले यहाँ जारी १५औं रनिङ चाँदी कप खुला नकआउट फुटबल प्रतियोगितामा जित हात पारेका छन् ।

आइतबार भएको दिनको पहिलो खेलमा सिद्धार्थ (रातो) ले सुर्योदय युवा क्लबलाई ४–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । सिद्धार्थ (रातो) को जितमा स्यामुएल सेजुवारले दुई गोल गर्दा भुपेन्द्र सिंह र गणेश पुलामीले समान एक–एक गोल गरे । उता पराजित सुर्योदयका लागि भने अजय गन्धर्वले एक मात्र गोल फर्काएका थिए ।

त्यस्तै दिनको दोस्रो खेलमा बिरेन्द्र (बी) ले आयोजक कै टोली सिद्धार्थ युवा क्लब (निलो) लाई ६–१ को फराकिलो अन्तरले हरायो । बिरेन्द्रको जितमा युकेश तामाङ र प्रदिप तामाङले दुई–दुई गोल गर्दा सौगात तामाङ र निशान तामाङले समान एक–एक गोल गरे । उता सिद्धार्थ (निलो)का लागि भने मन्नत तामाङले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।

सिद्धार्थ युवा क्लब, पुनर्वास नगरपालिका–७, कञ्चनपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २२ हजारका साथ ६४ तोलाको आकर्षक चाँदीको ट्रफी हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल भने असोज २७ गतेका दिन हुनेछ ।

Post Comments