News लालीगुराँस कप यु–१९ राष्ट्रिय फुटबल प्रतियोगिता शुरु, आयोजक एलजी (रातो) को विजयी शुरुवात
गोलनेपाल

मटेरी । आइतबारदेखि पाल्पाली नगर रामपुरको मटेरीमा शुरु प्रथम लालीगुराँस कप राष्ट्रिय यु–१९ फुटबल प्रतियोगितामा आयोजक लालीगुराँस (एलजी) एसोसिएशन (रातो) ले विजयी शुरुवात गरेको छ ।

रामपुर नगरपालिका–५, मटेरी, ठुलोटार स्थित खेलमैदानमा भएको उद्घाटन खेलमा एलजी (रातो) ले युथ युनियन, नवलपुरलाई १–० ले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । एलजीको जितमा सोजित रुचालले एक मात्र निर्णायक गोल गरे । खेलमा एलजीका प्रनिल हमाल प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत असोज २० गते सोमबार कुल चार खेलहरु हुने खेल संयोजक आदेश रानाले जानकारी दिए । त्यसअघि प्रतियोगिताको उद्घाटन रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेन, आयोजक क्लबका अध्यक्ष मधुसुदन पोखरेलले संयुक्त रुपमा गरेका थिए ।

प्रतियोगितामा पाल्पा, रुपन्देही, कास्की, मकवानपुर, काठमाडौं, चितवन, नवलपुरका गरी कुल १८ टोलीहरु सहभागि छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

Post Comments