राजाबास । सहज जित हात पार्दै सतिसाले भेट्रान्स, मोरङ यहाँ जारी प्रथम राजाबास भेट्रान कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा सतिसाले भेट्रान्सले दुहबी भेट्रान्स, सुनसरीलाई ४–० को अन्तरले हराउँदै उपाधि नजिक आफ्नो स्थान सुरक्षित गरेको हो ।
सतिसाले भेट्रान्सका लागि गणेश लिम्बुले ह्याट्रिक गरे भने थप एक गोल देव बहादुर लिम्बुले गरे । खेलमा ह्याट्रिककर्ता सतिसाले भेट्रान्सका गणेश लिम्बु म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत कार्तिक १३ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक राजाबास भेट्रान्स फुटबल क्लब, सुनसरी र भानु भेट्रान्स, धरान, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।
राजाबास भेट्रान फुटबल क्लब, बराहक्षेत्र–९ राजाबास, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक १५ गतेका दिन हुनेछ ।
