News राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट म्याट रसको राजिनामा
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनको राजिनामाबारे एन्फा महासचिव किरन राईले पनि आधिकारिक रुपमा पुष्टी गरेका छन् ।

४७ वर्षिय अष्ट्रेलियन प्रशिक्षक रसले गत फागुनमा मात्रै राष्ट्रिय टोलीको प्रशिक्षकीय जिम्मेवारी सम्हालेका थिए । तत्कालिन पूर्व इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको स्थानमा आएका रसले नेपाललाई खासै सफलता भने दिलाउन सकेनन् ।

रसले आफ्नो नेतृत्वमा नेपाली टोलीले अपेक्षाकृत प्रदर्शन नगरेकै कारण नैतिकताका आधारमा राजिनामा दिएको हुनसक्ने बताइएको छ । रसको राजिनामासँगै राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको स्थान रिक्त बनेको छ ।

एएफसी एसियन कप छनौटतर्फ नेपालले आउँदो नोभेम्बर १८ तारीखका दिन मलेसियासँग खेल्ने कार्यक्रम छ । सम्भवत उक्त खेलका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा एन्फाले अन्तरिक प्रशिक्षक नै नियुक्त गर्ने सम्भावना छ । जसमा नेपाली प्रशिक्षक नै हुन सक्ने सम्भावना पनि प्रबल रहेको छ ।

Post Comments