कर्जन्हा । सहज जित हात पार्दै डाँगीहाट फुटबल क्लब, मोरङ यहाँ जारी चौथो कार्तिकेय कुमार गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा डाँगीहाटले बागमती प्रदेश प्रहरी तालिम केन्द्र, सिन्धुलीलाई ५–० को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने दोस्रो टोली बन्न सफल भएको हो ।
डाँगीहाटका लागि सञ्जय धिमालले ह्याट्रिकसहित चार गोल गरे भने थप एक गोल सबिन राईको नाममा रह्यो । चार गोल गरेका सञ्जय धिमाल खेलको म्यान अफ दि म्याच समेत चुनिए ।
प्रतियोगिता अन्तर्गत कार्तिक २१ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल एपिएफ, महोत्तरी र बिराटनगर सिटी फुटबल क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।
कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखा, सिरहाको आयोजना र बन्दीपुर युथ क्लब, कर्जन्हा, सिरहाको सह–आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २६ गतेका दिन हुनेछ ।