बिराटनगर । पेनाल्टी शुटआउटमा नतिजा आफ्नो पक्षमा पार्दै यहाँ सम्पन्न तेस्रो डिपिएस इन्टर स्कुल रनिङ कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि माउण्ट जिओन स्कुल, भारतले जितेको छ ।
सोमबार भएको फाइनलमा माउण्ट जिओनले घरेलु टोली दिल्ली पब्लिक स्कुल, बिराटनगर (डिपिएस) लाई पेनाल्टी शुटआउटमा ३–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
अनिष क्षेत्री फाइनल खेलको म्यान अफ दि म्याच र उत्कृष्ट गोलरक्षक पनि बने । त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट डिफेन्डर सन्जोक राई बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार अमन खवासले हात पारे । त्यसैगरी राईजिङ प्लेयर रितेष दर्जी चुनिए ।
त्यस्तै उत्कृष्ट प्रशिक्षक रहिन भुईया बन्दा गोदावरी इङलिस स्कुलले फेयर प्ले पुरस्कार हात पार्यो । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने डिपिएसका अमन खवास घोषित भए । उनले त्यसवापत एक थान बाइसाइकल हात पारे ।
दिल्ली पब्लिक स्कुल (डिपिएस), बिराटनगरको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।