News वडा नम्बर ७ र १३ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा
गोलनेपाल

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ अरनीको खेलमैदान दाङमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को आयोजनामा जारी दाङ जिल्लाकै सर्वाधिक धनराशि साथै देशकै प्रतिष्ठित दोस्रो अन्तर वडा स्तरीय रनिङ पुरूष फुटबल प्रतियोगिता अन्तर्गत बुधबार सम्पूर्ण क्वार्टर फाइनल खेलहरू सम्पन्न भएका छन्।

पहिलो खेल वडा नं ८ र १३ बीच रोमाञ्चक प्रतिस्पर्धा हुँदा २-० गोलन्तरको जित हात पार्दै वडा नम्बर १३ यस प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ। वडा नम्बर १३ लाई जित दिलाउने क्रममा यमनारायण चौधरीले उत्कृष्ट दुई गोल गरेका हुन्। साथै उनी उक्त खेलको म्यान अफ द म्याच बन्दै नगद रु १५०० सहित ट्रफी प्राप्त गरेका छन्। दोस्रो खेल वडा नं ७ र १८ बीच प्रतिस्पर्धा हुँदा एक शून्यको साँघुरो जित हात पार्दै वडा नं ७ सेमिफाइनलमा प्रवेश गरेको हो। पहिलो हाफ गोल रहित बराबरीमा टुङ्गिएको उक्त खेल दोस्रो हाफको पहिलो मिनेटमै उत्कृष्ट गोल गर्दै विवेक रसाइलीले अग्रता दिलाएका थिए। त्यसपश्चात दुवै टोलीबाट थप गोल हुन नसक्दा उक्त गोल नै निर्णायक गोल हुन पुगेको हो। निर्णायक गोलकर्ता विवेक रसाइलीनै उक्त खेलको म्यान अफ दि म्याच बनेका छन्।

बिहिबार पहिलो सेमिफाइनल खेल वडा नं ५ र वडा नम्बर १२ दिनको ठिक १२ बजे प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो सेमीफाइनलमा वडा नं ७ र १३ दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्। तुलसीपुर उपमहानगरपालिका भित्रका १९ वटा वडाहरूमध्ये १६ वटा वडाहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता हुने टोलीले नगद रु. २,६६,६६६ रुपैया सहित चाँदी जडित रनिङ ट्रफी प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद रु १,६६,६६६ सहित कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

पुष ४ गतेबाट सुरु भएको उक्त प्रतियोगिताको फाइनल खेल पुष १२ गते हुनेछ।

Post Comments