News नेपाल पुलिस स्कुल (रातो) र सिद्धार्थ सेकेण्डरी स्कुल सेमिफाइनलमा
गोलनेपाल

धरान । नेपाल पुलिस स्कुल (रातो), धरान र सिद्धार्थ सेकेण्डरी स्कुल, मोरङ यहाँ जारी सातौं डिआईजिपी रनिङ शिल्ड कोशी प्रदेशस्तरीय अन्तर स्कुल फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो क्वाटरफाइनलतर्फ नेपाल पुलिस स्कुलले निदी सेकेण्डरी स्कुल, झापालाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । नेपाल पुलिस स्कुलको जितमा उज्ज्वल थापा र समिर राईले गोल गरे । उता पराजित निदी सेकेण्डरीका लागि आदर्श मेचेले एक मात्र गोल फर्काए । खेलमा नेपाल पुलिस स्कुलका समिर राई प्लेयर अफ दि म्याच बने ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा सिद्धार्थ सेकेण्डरीले माउण्ट हर्मन एकेडेमी, धरानलाई पेनाल्टी शुटआउटमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा सिद्धार्थ सेकेण्डरीले ३–२ को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । खेलमा सिद्धार्थ सेकेण्डरीका गोलरक्षक आयुष लिम्बु प्लेयर अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत पुष १५ गते मंगलबारको पहिलो खेल तथा तेस्रो क्वाटरफाइनल प्रभात सेकेण्डरी इङलिस स्कुल, धरान र दिल्ली पब्लिक स्कुल, मोरङ बीच हुनेछ भने दिनको दोस्रो खेल तथा चौथो क्वाटरफाइनल पिनाकल ज्ञान मन्दिर, मोरङ नेपाल पुलिस स्कुल (निलो), धरान बीच हुने आयोजकले जानकारी दियो ।

 

Post Comments