News ह्वाकुमा श्रीजङ राय स्मृति फुटबल सुरू
गोलनेपाल

ह्वाकु (तेह्रथुम) । आठराई गाउँपालिका ३ ह्वाकुस्थित मौलाडाँडा खेलमैदानमा आजदेखि श्रीजङ राय स्मृति फुटबल प्रतियोगिताको छैटौ संस्करण सुरु भएको छ ।

उद्घाटन खेलमा आयोजक श्रीजङ राय पापो समाज बीले विजयी सुरुवात गरेको छ । इवाको लाफा एफसीलाई सडनडेथमा ५-४ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका थिए । सुरुवाती अग्रता लाफा एफसीका कप्तान मनिष मगरको गोलबाट भएको थियो ।

तर, गोलको खुसी साट्न नपाउँदै श्रीजङ राय पापो समाजका विप्लव इङनामले बराबरी गोल फर्काएका थिए । यसैगरी, आजै हुने भनिएको दोस्रो खेलमा बोझेनी मोरङ वाइसी अनुपस्थित भएपछि यावन कालिपा एफसीले वाकओभर पाएर क्वाटरफाइनल खेलमा प्रवेश पाएको छ ।

इङनाम इवाहाङ युवा समाजले आयोजना गरेको प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार ५५५ र उपविजेताले नगद ७५ हजार ५५५ सहित ट्रफी पाउने छ ।

Post Comments