एकतप्पा, इलाम । इलामको फाकफोकथुम ६ स्थित सिकारी भञ्ज्याङमा आजदेखि सुरु चौथो एकतप्पा गोल्डकप पुरुष तथा महिला फुटबल प्रतियोगितामा उर्लाबारी र पाँचथरले विजयी सुरुवात गरेका छन् ।
स्थानीय सिंहदेवी माविको खेलमैदानमा आयोजित महिलातर्फको उद्घाटन खेलमा एमपीसी पाँचथरले सिरिजंघा एफसी आमचोक इलामलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
पाँचथरका लागि प्रनिशा लिम्बूले ह्याट्रिक गरिन् भने वर्षा मगर, सोनम राई र प्रतिक्षा मगरले समान १-१ गोल गरे । ह्याट्रिककर्ता प्रनिशा लिम्बू प्लेयर अफ दी म्याच बनिन् । उनले नगद १ हजार पाइन् ।
यसैगरी, पुरुषतर्फबाट उद्घाटन खेलमा उर्लाबारीको योङ ब्वाइज एफसीले स्थानीय कोलबोटे एफसीलाई ३-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । उर्लाबारीका लागि प्रविण राईले दुई गोल गरे भने प्रितम कार्कीले थप गोल गरेका हुन् । प्रविण राई प्लेयर अफ दी म्याच बन्दै नगद १ हजार पाउन सफल भए । कोलबोटेका सन्देश बेघाले सान्त्वना गोल फर्काएका थिए ।
बुधबार पुरुषतर्फ एकतप्पा एफसी र पोखरी एफसीबीच खेल हुनेछ भने महिलातर्फ कोलबोटे एफसी र लोखुम्बा एफसीबीच खेल हुनेछ । कात्तिक १६ गते हुने पुरुषतर्फको फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार तथा महिलातर्फको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी पाउने आयोजकका अध्यक्ष पदम योङहाङले जानकारी दिए ।