News हिमालय आठौँ बसन्त कपको सेमिफाइनलमा
गोलनेपाल

बसही । सरावल गाउँपालिका–१, बसही रङ्गशालामा जारी आठौँ बसन्त कप फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत आजको पहिलो क्वार्टरफाइनल खेल गोलले भरिपूर्ण र अत्यन्त प्रतिस्पर्धात्मक बनेको छ।

खेलको २१औँ मिनेटमा सुनवल फुटबल क्लबका माधव तिवारीबाट भएको आत्मघाती गोलसँगै हिमालय सामुदायिक विकास केन्द्र, रुपन्देहीले अग्रता लिएको थियो। पहिलो हाफको समाप्तिसम्म हिमालय १–० ले अगाडि रह्यो।

दोस्रो हाफ सुरु हुनासाथ ४६औँ मिनेटमा निखिल पुनले सुनवलका लागि बराबरी गोल गर्दै खेलमा पुनः जीवन भरे। त्यसपछि खेल झन् तीव्र र आक्रामक बन्यो।

७०औँ मिनेटमा सुवास नेपालीले हिमालयका लागि महत्वपूर्ण गोल गर्दै टोलीलाई पुनः अग्रतामा पुर्याए। तर सुनवलले हार मानेन। ७२औँ मिनेटमा परिवर्तन भएर मैदान प्रवेश गरेका वाङ्गाले लामा ले उत्कृष्ट फिनिसिङ गर्दै सुनवलका लागि बराबरी गोल गरे।

खेल निर्णायक मोडमा पुगेको बेला ७८औँ मिनेटमा सुमन पुनले हिमालयका लागि निर्णायक गोल गर्दै खेललाई ३–२ मा पुर्याए। उक्त गोल नै खेलको निर्णायक बन्यो।

पूर्ण समयको समाप्तिसँगै हिमालय सामुदायिक विकास केन्द्रले ३–२ को रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। निर्णायक गोलसहित प्रभावशाली प्रदर्शन गरेका सुमन पुन खेलको म्यान अफ द म्याच घोषित भए।

Post Comments