बिराटनगर । मोरङको विराटनगरमा सम्पन्न प्रथम मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि आदर्श माध्यमिक विद्यालय, बिराटनगरले जितेको छ ।
फाइनलमा आदर्श माविले डन बस्को बोर्डिङ स्कुल, बिराटनगरलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो । आदर्श माविको जितमा दिलिप यादव, एलन थापा र आदित्य ढुंगेलले गोल गरे ।
विजेता बनेको आदर्श माविले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्दा उपविजेता डन बस्कोले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीहरु जनता मावि र सेन्ट जोसेफ स्कुलले जनही ३५–३५ हजार हात पारे ।
त्यस्तै विधागततर्फ डन बस्केका उदेश केसी फाइनल खेलको म्यान अफ दि म्याच बने । अन्य विद्यागततर्फ उत्कृष्ट गोलरक्षक आदर्शका योगेश राजवंशी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार डन बस्कोका प्रकाश कामतले हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने आदर्श माविका एलन थापा घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बिराटनगर महानगरपालिका, मोरङका नगर प्रमुख नागेश कोइराला लगायतले पुरस्कृत गरेका थिए ।