
अन्तर्राष्ट्रिय फुटबलमा एक पछि अर्को हार बेहोरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरियता पनि तल खस्कदो छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल तीन स्थान तल झर्दै १७०औं स्थानमा पुगेको छ ।
फिफा विश्वकप छनौटतर्फ पछिल्ला दुई खेलमा लगातार हार बेहोरेको नेपालले नयाँ वरियताका लागि कुल ९७४ अंक बटुल्यो । दक्षिण एसियामा भने नेपाल तेस्रो स्थानमा यथावत ।
त्यस्तै दक्षिण एसियामा वर्चश्वय कायम राखेको भारत पनि तीन स्थान तल झर्दै १०८औं स्थानमा पुगेको छ । एक स्थान तल झरेको साफ च्याम्पियन माल्दिभ्स १५५औ. स्थानमा छ र दक्षिण एसियातर्फ भारतपछि दोस्रो स्थानमा छ ।
दक्षिण एसियातर्फ चौथो स्थानमा बंगलादेश छ । बंगलादेश पनि फिफा वरियतामा तीन स्थान तल झर्दै १८७औं स्थानमा पुगेको छ । उता फिफा वरियतामा यथावत रहेको भुटान १८९औं स्थानमा छ र दक्षिण एसियातर्फ पाँचौं स्थानमा रहन सफल भएको छ ।
त्यसैगरी २०१औं र २०५औं स्थानमा रहेको पाकिस्तान र श्रीलंका भने दक्षिण एसियातर्फ क्रमश छैठौं र सातौं स्थानमा छ ।
विश्व वरियतामा बेल्जियम टप
फिफाको नयाँ विश्व वरियतामा बेल्जियम भने शिर्ष स्थानमा रहेको छ । विश्व विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा ब्राजील तेस्रो स्थानमा रहेको छ ।