News स्व. बोध प्रसाद पराजुली स्मृति आठौं सञ्जिवनी कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

देवीनगर । सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बाघधुरा, देवीनगर, रुपन्देहीको आयोजनामा यही माघ १६ देखि २७ गतेसम्म हुन गईरहेको स्व. बोध प्रसाद पराजुली स्मृति आठौं सञ्जिवनी कपको तयारी पूरा भएको छ ।

आयोजक क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको आवश्यक तयारी सबै पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा स्थानीय क्लब र स्थानीय खेलाडीहरुलाई नै बढी भन्दा बढी अवसर प्रदान गर्ने उद्देश्यका साथ जिल्ला भित्रैका कुल १२ टोलीहरु सहभागि रहेको आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्री (हापु) ले बताए ।

शहिद दिवस कै अवसर पारी वार्षिक रुपमा निरन्तर आयोजना हुँदै आएको सञ्जिवनी कपको आठौं संस्करणलाई तिलोत्तमा–१४ निवासी दिवंगत समाजसेवी स्व. बोध प्रसाद पराजुलीका श्रीमती खिमाकुमारी पराजुली, छोरा कृष्ण पराजुली लगायत सम्पूर्ण पराजुली परिवारद्वारा प्रायोजन गरिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र कुमार छन्तेलले जानकारी दिए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख ७७ हजार खर्च हुने अनुमान गरिएको पनि आयोजकले जानकारी दियो ।

स्मरण रहोस, प्रतियोगिताको सातौं संस्करण फर्साटिकर युवा क्लब, फर्साटिकरले जितेको थियो । यसपटक प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सबै तयारी भईसकेको खेल संयोजक खिम थापाले बताए । प्रतियोगिताको विशेष सहयोगीमा तिलोत्तमा नगरपालिकाको कार्यालय तथा तिलोत्तमा नगरपालिका वार्ड नम्बर १४ को कार्यालय पनि रहेको खेल संयोजक खिम थापाले जानकारी दिए ।

Post Comments