मुर्गिया । रुपन्देहीको फुटबलमा परिचित मध्ये एक मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गिया, रुपन्देहीको आयोजनामा यही माघ १५ देखि २८ गतेसम्म हुने सैनामैना वार्ड लिग फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजकले बुधबार एक कार्यक्रका बीच पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको हो । सैनामैना–४, मुर्गिया स्थित सैनामैना बहुउद्देश्यीय रंगशालामा हुने प्रतियोगितामा सैनामैना नगरभित्रका कुल ११ वार्डका फुटबल टोलीहरुले सहभागिता जनाउने खेल संयोजक कशिस श्रेष्ठले जानकारी दिए ।
सैनामैना नगरपालिका संरक्षक तथा सैनामैना नगर खेलकुद विकास समिति, रुपन्देही सह–आयोजक रहेको प्रतियोगिताको विजेताले आकर्षक चाँदी जडित उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि जनही १०–१० हजार नगद पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक कशिस श्रेष्ठले जानकारी दिए । सोही अवसरमा बोल्दै आयोजक मुर्गिया फुटबल क्लबका अध्यक्ष प्रबिन भारीले आफ्नै नगरभित्रका प्रतिभावान खेलाडीहरुको क्षमता उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजन ागर्न लागिएको बताए ।
सो अवसरमा सैनामैना नगर खेलकुद विकास समितिका अध्यक्ष तथा युवा खेल अभियन्ताका रुपमा समेत रहेका खिम श्रेष्ठले पनि प्रतियोगितालाई भव्य बनाउन नगरपालिका र खेलकुद समितिले सकेको साथ, सहयोग र आवश्यक समर्थन गर्ने बताए । साथै प्रतियोगितालाई सफल बनाउन सबैले आफ्नो तह–तप्काबाट साथ दिने उनले आह्वान समेत गरे ।
खेलतालिका हेर्नुहोसः
