पोखरा । आहा रारा गोल्डकपले २५औँ रजत जयन्ती संस्करणमा पहिलोपटक अस्थायी फ्लडलाइट जडान गरी संध्याकालिन खेल संचालन गर्ने भएको हो ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं’ भन्ने नाराका साथ माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी १२ टिम सहभागी हुनेछन् ।
प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब, सहिद स्मारक ‘ए’ डिभिजन लिगका मछिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, चर्च ब्वाइज युनाइटेड, जाउलाखेल युथ क्लब र प्लानिङ व्वाइज युनाइटेड प्रतिस्पर्धामा उत्रिनेछन् ।
यस्तै, विदेशी टिममा उज्वेकिस्तानको आभा फुटबल क्लब, हङकङको गार्खा फुटबल क्लब र भारतको थन्डरबोल्ट नर्थ युनाइटेडले सहभागिता जनाउने पक्का भएको छ भने भारतकै एक टिमको अन्तिम टुंगो लाग्न बाँकी रहेको क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिएका छन् ।
आयोजकले पुरस्कार राशीमा समेत वृद्धि गरेको छ । प्रतियोगिताको उपाधि जित्ने टिमले १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् ।
सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजक रारा तयारी चाउचाउ रहेको छ ।